४ आश्विन २०८२, शनिबार

कविता: देश

कोलोराडोखबर संवाददाता , September 20th, 2025

-लक्ष्मण आचार्य-
अब
कोर्नुछ समयको क्यानभासमा
एउटा सुन्दर चित्र
तिनै धुँवाका मुस्लोहरूबाट
उतार्नु छ
एउटा बेलगाम घोडाको तस्बिर

भर्खरै सम्पन्न भएको छ
एउटा अश्वमेध यज्ञ
अब उत्सव मनाऊँ कि शोक ?
यतिखेर शङ्का जगाऊँ कि भोक ?
बडो दुविधा भइरहेछ

उठ्नुछ
तिनै खरानीहरूको
रासबाट माथि
तिनै खरानीको
रास थुपारेर
मलको रूपमा उपयोग गर्दै
समयको गमलामा
हुर्काउनु छ कैयन्
समृद्धिका सुन्दर फूलहरू
र सच्याउनु पर्नेछ अनगिन्ती भूलहरू … ।

-चन्द्रपुर, रौतहट ।

प्रतिक्रिया दिनुहोस्