नेपाल । बुटवलका साहित्यानुरागीले देशलाई शून्यताको अवस्थाबाट माथि उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । देशले आन्दोलन माग गरेका बेला उथलपुथल हुने भन्दै उनीहरूले देशलाई शून्यबाट माथि उठाउँदै पुनर्निर्माणमा अघि बढाउनुपर्ने बताएका छन् ।
बुटवलका साहित्यकर्मीहरू हरेक महिनाको अन्तिम शनिबार साहित्य सङ्गममार्फत जोडिन्छन् । त्यही सङ्गमको ३२६ औँ मासिक शृङ्खला शनिबार सम्पन्न भएको हो । त्यस अवसरमा साहित्यकार ऋषिराम भुसालले प्रस्तुत रचनाको समीक्षा गर्दै कहिलेकाहीँ क्षति पनि सुन्दर बन्न सक्ने र त्यही बाटो हुँदै देशको पुनर्निर्माण र नयाँ सम्भावनाको खोजी हुन सक्ने उल्लेख गर्नुभयो ।
लेखक गणेश घिमिरेले साहित्य सत्यको समर्थन र गलतको विरोधका साथै विकल्प प्रस्तुत गर्ने दिशामा अघि बढ्नुपर्ने बताउँदै नेपाली समाज र राजनीतिले अहिले खोजिरहेको सबैभन्दा ठुलो आवश्यकता विकल्पको निर्माण हो र साहित्यले त्यसमा अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
साहित्यानुरागी हरि पौडेलको सञ्चालन रहेको शृङ्खलामा कृष्णप्रसाद कोइराला, दलबहादुर गुरुङ, बालकृष्ण भण्डारी, कृष्ण गाउँले, वासुदेव अर्याल, गणेश भण्डारी, यदु लामिछानेलगायतका स्रष्टाले साहित्यिक रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा लोकनाथ उपाध्यायले साहित्यले देशको वर्तमान अवस्थाको चित्रण गर्ने मात्र नभई क्रान्तिको बिगुल फुक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्