अमेरिका । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दोस्रो खेलमा आफ्नै मैदानमा टोटेनह्याम हट्सपरसँग २–० ले पराजित भएको छ । टोटनह्यामले नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा प्रिमियर लिगमा लगातार दोस्रो जित निकाल्यो ।
गत नोभेम्बरमा पनि स्पर्सले सिटीलाई उसकै मैदानमा ४–० ले हराएको थियो । यसपटक पनि पहिलो हाफको दुई गोलको अग्रता जोगाउँदै हट्सपरले ३ अंक जोड्न सफल भयो । खेलको सुरुवातमा ओमार मार्मोसले राम्रो अवसर गुमाउन पुगेका थिए। त्यस्तै, गोलरक्षक गुग्लिएल्मो भिकारियोले पनि राम्रो अवसरमा चुकेका थिए ।
तर, खेलको ३५ औँ मिनेटमा स्पर्सले अग्रता लियो। रिचार्लिसनको लो क्रसलाई ब्रेनन जोनसनले गोलमा परिणत गरे। सुरुमा अफसाइडको कारण गोल अस्वीकृत भए पनि भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा उक्त गोलले मान्यता पायो ।
सिटीका लेफ्ट–ब्याक रायन एइट नुरीको चोटका कारण पहिलो हाफमा सात मिनेट थपिएको खेलमा स्पर्सले पुनः अग्रता बनायो । सिटीका गोलरक्षक जेम्स ट्राफोर्डले आफ्नै क्षेत्रमा गरेको कमजोर पासलाई जोआओ पाल्हिन्हाले सदुपयोग गर्दै स्पर्सलाई २–० को अग्रता दिलाए ।
हाफ टाइमअघि हालान्डले गोल फर्काउने राम्रो मौका पाए तर नजिकैबाट गरेको हेडिङ क्रसबारमाथि बाहिरिन पुग्यो । दोस्रो हाफमा पनि घरेलु टोलीले खेल नियन्त्रणमा राखेपनि गोल गर्न असफल भयो । लगातार दोस्रो क्लिनसिटसहित टोटेनह्याम आफ्नो प्रभावसाली सुरुवातलाई निरन्तरता दिन सफल भयो ।
प्रतिक्रिया दिनुहोस्