१७ श्रावण २०८२, शनिबार

कविता: हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?

कोलोराडोखबर संवाददाता , August 2nd, 2025

-आर. आर. चौलागाईं-
पहिला नौलो जनवाद आउँछ
त्यसपछि समाजवाद आउँछ
र अन्तिममा साम्यवाद आउँछ भन्नुहुन्थ्यो
छ सालदेखि हिँडेको हिँड्यै छौँ हामी
न जनवाद आयो
न समाजवाद आयो
न साम्यवाद नै आयो
पचहत्तर वर्ष बितिसकेछ
हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?

कहिले राजाको कदम ठीक हो भनेर
दरबार पस्नु भो
कहिले आफ्नै साथीलाई गद्दार भनेर
आमाचकारी गाली गर्नु भो
कहिले वर्गशत्रु खत्तम अभियान भनेर
उद्योगपति र राष्ट्रिय पुँजीपतिहरूलाई
गिँड्दै हिँड्नु भो
कहिले टुक्राटुक्रामा विभाजित भएर
थुप्रै नाङ्ले पसलहरू खोल्नु भो
कहिले राजनैतिक स्वतन्त्रता भनेर
हाम्रो दिमाग भुट्नु भो
कहिले पार्टी स्वतन्त्रता भनेर
हामीलाई अलमल्याउनु भो
कहिले बुर्जुवा शिक्षा पढ्नु हुँदैन भनेर
हाम्रो पढाइलाई छुटाउनु भो
कहिले कम्युनिस्टले निजी सम्पत्ति राख्नु हुँदैन भनेर
हाम्रो खल्तीलाई रित्याउनु भो
कहिले पञ्चायती चुनावमा भाग लिनु भो
र आफ्नो निजी जीवनलाई झिलिमिली पार्नु भो
कहिले पञ्चायती चुनावलाई बहिष्कार गर्नु भो
र हामीलाई भुङ्ग्रामा हाल्नु भो
कहिले जनयुद्धको नाममा सत्र हजार मान्छेहरूको बलि चढाउनु भो
जातजात र धर्मधर्मका बीचमा झगडा गराएर वितण्डा मच्चाउनु भो
संस्कृत र अङ्ग्रेजी पढाउने गुरुहरूलाई रुखमा झुन्ड्याउनु भो
र अर्बौँअर्बको भौतिक सम्पत्ति ध्वस्त पार्नु भो
हेर्दाहेर्दै हाम्रो कपाल पाकेर सेतो भइसक्यो
गाला चाउरी परिसक्यो
के हाम्रो सिद्धान्त फेल खाएकै हो त ?
कि तपाईँहरूको ढङ्ग पुगेन ?

कहिले रुसको नक्कल गर्नु भो
कहिले चीनको नक्कल गर्नु भो
हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?
कहिले आफैँले प्रमुख शत्रु भनेको पार्टीलाई
गम्लङ्ङ अँगालो हाल्नु भो र पटक पटक उनीहरूसँग
गाला जोडेर सरकार बनाउनु भो
बिचौलिया, दलाल र भ्रष्टाचारीहरूको घेरामा बस्नु भो
र उनीहरूकै सल्लाहमा चल्नु भो
सत्ताको कुर्सीमा बसेपछि जनतालाई चटक्कै बिर्सने
र सत्ताबाट तल झरेपछि जनतालाई सम्झेर तपतप आँसु झार्ने हुनु भो
कहिले आन्तरिक जनवादको नाममा श्रीमान् बितेकी आफ्नै नेतृलाई
खुल्ला सडकमा “सेतो सारी हाईहाई !” भनेर उछित्तो काढ्नु भो
कहिले राजाका मान्छेलाई
आफ्नो चुनाव चिन्ह दिएर भोट हाल्न लगाउनु भो
त कहिले राजाका मान्छेको चुनाव चिन्हमा भोट हालेर
जिताएर माथि पठाउनु भो
कहिले हामी कम्युनिस्टहरू उस्तैउस्तै हौँ भनेर
मिल्नु भो र फेरि लगत्तै मारामार गरेर अलग हुनु भो
कहिले केही न केहीका ठेटनाहरूलाई नेता बनाएर
अनि उनीहरूबाटै मरेको सिनो पदवीद्वारा सुशोभित हुनु भो
कहिले जबज (जनताको बहुदलीय जनवाद) का प्रणेता‚ विचारक
एवम् जनताका मनमनमा बसेका जननेतालाई
आम मानिसका बीचमा
चार वटा श्रीमती भएको र सहकारी ठग भनेर
हुँदै नभएको काल्पनिक आरोप लगाएर मानमर्दन गर्नु भो
र वहाँकी श्रीमतीको तेजोवध गर्नु भो
माओ त्से तुङको “सयौँ फूललाई फुल्न देऊ
र विचारका सयौँ धारलाई प्रतिस्पर्धा गर्न देऊ” भन्ने सत्य वचनलाई
पटक पटक धोती लगाउनु भो
कुरा नबुझेर वर्षौँदेखि मलाई उकुसमुकुस भइरहेको छ
के हाम्रो बाटो भत्किएर लथालिङ्ग भएकै हो त ?
हाम्रो यात्रा अहिले कहाँ पुग्यो कमरेड ?

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्