नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गर्नुभएको छ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा आयकर, अन्तःशुल्क तथा भन्सार प्रणालीमा गरिएका सुधार विगत केही वर्षयताकै महत्त्वपूर्ण संरचनागत सुधार रहेको बताउनुभयो ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा संशोधन गरी करका दर परिवर्तन गरिएको भन्ने आरोप अस्वीकार गर्नुभयो । उहाँले रगत तथा भ्याक्सिन बोक्ने क्यारियरको भन्सार दर, शिक्षासम्बन्धी कर व्यवस्था तथा विद्युतीय सवारी साधनमा रोड डेभलपमेन्ट शुल्कसम्बन्धी छुटेका विषय समेट्न संशोधन गरिएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठाइएका कर हेरफेर तथा अनियमिततासम्बन्धी आरोप निराधार रहेको बताउनुभयो ।
बैठकमा जवाफ दिनुहुँदै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा देखिएका विषय नीतिगत परिवर्तन नभई कर्मचारीस्तरमा भएका सामान्य प्राविधिक त्रुटि सच्याउने काम मात्र भएको स्पष्ट पार्नुभयो ।
उहाँले विद्युतीय सवारी साधन (इभी) सम्बन्धी कर संरचनाबारे स्पष्ट पार्दै ५० लाखसम्मका इभीलाई मध्यम वर्ग र युवाको पहुँचमा राख्ने उद्देश्यले रोड डेभलपमेन्ट शुल्कमा सहुलियत दिन खोजिएको बताउनुभयो ।
मन्त्री वाग्लले कर प्रशासन, भन्सार प्रणाली र राजस्व व्यवस्थापनमा देखिएका विकृति हटाएर सुशासन र पारदर्शिता कायम गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्