२७ असार २०८२, शुक्रबार

बीडीएको पाँचौं अधिवेशन जुलाई १९ र २० मा बोस्टनमा हुँदै, तयारी अन्तिम चरणमा

कोलोराडोखबर संवाददाता , July 11th, 2025

कोलोराडो । ‘ब्लड डोनर्स अफ अमेरिका’ को पाँचौं राष्ट्रिय अधिवेशन अमेरिकाको बोस्टन सहरमा हुने भएको छ । उक्त अधिवेशनको तयारी तीब्रताका साथ भइरहेको छ ।

‘छैठौं गजल उत्सव’ सहितको उक्त अधिवेशन आउदो जुलाई १९ र २०, २०२५ (शनिवार र आइतवा) म्यासाच्युसेट्स राज्यको बोस्टन सहर स्थित ब्रेनट्रिमा रहेको नेपाली कम्यूनीटि सेन्टर 594 Washington St. Braintree मा हुने संस्थाले घोषणा गरिसकेको छ ।

उक्त अधिवेशनले संस्थाको वार्षिक साधारण सभा र आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने कार्य सम्पन्न गर्नेछ । संस्थाको आगामी कार्यकालको लागी नयां नेतृत्व समेत चयन गर्ने भएकोले संस्थाका पूर्व अध्यक्ष डा. नन्दन रेग्मीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन कमिटी समेत गठन भइसकेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

बिधान संसोधन तथा सबै काम बैधानिक तवरले पूरा गर्न पूर्व अध्यक्ष डा. लिलाराज दाहालको संयोजकत्वमा बिधान संसोधन समिति गठन भएको छ ।

अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न केन्द्रीय उपाध्यक्ष महेश्वर पन्त संयोजक र उपाध्यक्ष टिका पौडेल, महासचिव डाक्टर शीरोज पोखरेल, केन्द्रीय सदस्य बिरोचन नेपाल, बोस्टन च्याप्टर अध्यक्ष राम थापा, आजीवन सदस्यहरु थानिरत्न कंडेल, सानु वर्मा, अन्जु थापा लगायत सह-संयोजक रहेको अधिवेशन मूल आयोजक समिति गठन गरी आवश्यक तयारी अगाडि बनाउन समितिलाई जिम्मेवारी सुम्पिसकिएको छ ।

अधिवेशनको उद्घाटन जुलाई १९, २०२५ शनिवार हुनेछ । रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि अपरान्ह २ बजेसम्म गरिने र त्यस दौरानमा रक्तदानसंग सम्बन्धित छलफल तथा जनचेतनामूलक सन्देशहरु पनि प्रवाह गरिने भएको छ । १९ तारिख शनिवार साँझ साङ्गीतिक गजल गायन कार्यक्रम गरिने भएको छ ।

कार्यक्रम तालिका अनुसार जुलाई २० तारिख आईतवारका दिन साधारण सभा अन्तर्गतका विभिन्न प्रस्तावहरु प्रस्तुत हुने, आवश्यक छलफल गरी त्यसलाई पारित गरिनुका साथै संस्थाको विधान अनुसार आगामी कार्यकाल (२०२५–२७) का लागि नयाँ कार्यसमिति समेत चयन गरिने छ ।

रक्तदानबारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को स्थापना भएको हो ।

सन २०२३ मा बाल्टिमोरमा सम्पन्न चौथो अधिवेशनले संस्थालाई अझ मजबुत बनाएको छ । एक सय अमेरिकी डलर तिरेपछि आजीवन सदस्य प्राप्तगर्न सकिने र श्रीमान–श्रीमति दुबै सदस्य बन्न चाहेमा एक सय पचास डलरमा दुवैजना आजीवन सदस्य बन्न सकिने संस्थाको बिधान छ ।

हाल अमेरिकाको १५ स्टेटमा बिडिएका च्याप्टरहरु सक्रिय रहेका छन् । संस्थामा झण्डै छ सय आजीवन सदस्यहरु आबध्द भइसकेको बिडिएका केन्द्रिय अध्यक्ष भुषणलाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्