१९ असार २०८२, बिहीबार

एएफसी महिला एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित

कोलोराडोखबर संवाददाता , July 3rd, 2025

नेपाल । कप्तान सावित्रा भण्डोरी ‘साम्बा’ को ह्याट्रिकसँगै नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा लगातार दोस्रो जित निकालेको छ ।

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी श्रीलङ्कालाई ८–० गोलले हरायो ।

समूह ‘एफ’ अन्तर्गत यसअघि आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हराएको थियो । नेपालले फिफा वरीयतामा आफुभन्दा ५९ स्थान तल रहेको श्रीलङ्काविरुद्ध एकपक्षीय प्रदर्शन गरेको थियो ।

नेपालले पहिलो र दोस्रो हाफमा समान चार गोल गरेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्नुभयो ।

उहाँले पहिलो हाफमै ह्याट्रिक पूरा गर्नुभएको हो । लाओसविरुद्धको पहिलो खेलमा पनि चार गोल गर्नुभएको थियो । यस्तै गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले एक एक गोल गर्नुभयो ।

श्रीलङ्का पहिलो खेलमा आयोजक उज्वेकिस्तानसँग १०–० गोलले पराजित भएको थियो । समूहमा लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको नेपाल शीर्ष स्थानमा छ ।

नेपालले समूहको अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

प्रतिक्रिया दिनुहोस्