१९ असार २०८२, बिहीबार

एएफसी महिला एसियन कप छनौटः नेपालद्वारा लाओस ९-० ले पराजीत

कोलोराडोखबर संवाददाता , June 30th, 2025

नेपाल । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात गरेको छ ।

उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० गोलले हरायो ।

एकपक्षीय खेलमा पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा सात गोल थपेको थियो । नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले चार गोल गर्नुभयो ।

यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले एक–एक गोल थप्नुभयो । नेपालले एक गोल लाओसबाट उपहार पाएको थियो । साम्बाको प्रहार लाओसकी रक्षकलाई ठोक्किँदै गोलमा परिणत भएको थियो ।

छनोटमा नेपाल समूह ‘एफ’ को दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

प्रतिक्रिया दिनुहोस्