२६ जेष्ठ २०८२, सोमबार

अमेरिकाबाट चिकित्सक झिकाएर नेपालमै लिंग परिवर्तन !

कोलोराडोखबर संवाददाता , June 9th, 2025

नेपाल । राजधानी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरेको छ ।

अस्पतालका प्लास्टिक सर्जरी विभागका पूर्वविभागीय प्रमुख प्राडा ईश्वर लोहनीले नेपालमा पहिलो पटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो ।

“त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक गत जेठ १३ गते मङ्गलबार अमेरिकाबाट चिकित्सक झिकाएर केटाबाट केटी (मेल टु फिमेल) शल्यक्रिया गरिएको हो,” उहाँले भन्नुभयो, “अब भने नेपालकै चिकित्सकको टोलीले लिङ्ग परिवर्तन शल्यक्रिया गर्ने छन् । डा. लोहनीले यस प्रकृतिको शल्यक्रिया पहिलो पटक भएकाले अमेरिकादेखि चिकित्सक झिकाइएको जानकारी दिनुभयो ।

अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख प्राडा जयनमान श्रेष्ठले जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर (पिटर) मा लिङ्ग परिवर्तन शल्यक्रिया गरेको भन्दै हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

डा. श्रेष्ठले विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामिदियान जारोमीको नेतृत्वमा, प्राडा ईश्वर लोहनी, प्राडा जयनमान श्रेष्ठलगायतको टोलीले उक्त शल्यक्रिया गरेको बताउनुभयो । उहाँका अनुसार पुरुषको लिङ्गको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्