नेपाल । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्कामा भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले यस मुद्दामा टेलिकमका वर्तमान प्रबन्ध निर्देशक सङ्गीता पहाडी, निवर्तमान प्रबन्ध निर्देशक सुनील पौडेलसहित टेलिकमका अन्य कर्मचारी, चिनियाँ तथा नेपाली ठेकेदारका प्रतिनिधि र ठेकेदार कम्पनीलाई पनि प्रतिवादी बनाएको छ ।
प्रतिवादी सबैलाई ३३ करोड ४८ लाख १७ हजार ४३० रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।
एघार जनाविरुद्ध छुट्टै मुद्दा
यसैबीच आयोगले आइतबार नै नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय कास्कीका प्रमुख चित्तरञ्जन दाससमेत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिलमा उल्लेख भएभन्दा बढी परिमाणमा पेट्रोलियम पदार्थ आपूर्ति गरी आर्थिक अनियमितता गरेको आरोप लगाएको आयोगले कास्कीको तालचोकस्थित पश्चिमाञ्चल टे«डर्स तथा त्यसका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाट तथा ट्याङ्करचालक निर्मल थापालाई प्रतिवादी बनाएको छ ।
उहाँहरू सबैलाई चार लाख ४८ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्