६ जेष्ठ २०८२, मंगलवार

आइसल्यान्डमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्  गठन

कोलोराडोखबर संवाददाता , May 20th, 2025

अमेरिका । आइसल्यान्डमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९१‍औँ राष्ट्रिय समन्वय परिषद्  गठन भएको छ ।

एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सुभाससिंह थापाको अध्यक्षतामा तदर्थ कार्यसमिति घोषणा गरेको हो । भेलाले आगामी एक साताभित्र पूर्ण समिति प्रस्ताव गर्न थापालाई जिम्मेवारीसमेत दिएको छ ।

सभालाई सम्बोधन गर्दै डा. केसीले एनआरएनएलाई “विदेशमा बस्ने नेपालीहरूको साझा चौतारी” भन्दै, नवगठित समितिलाई आइसल्यान्डस्थित नेपालीहरूको समस्या नेपाल सरकारसम्म पुर्‍याउन, आपसी सद्भाव सुदृढ गर्न तथा परोपकारी र लगानीमुखी पहल अघि बढाउन निर्देशन दिए । उनले “नेपालीका लागि नेपाली” मूल नारासहित २००३ देखिको संघको परोपकार, आर्थिक र सीप–लगानीका उपलब्धि उल्लेख गरे ।

उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली अभियानमा लगानी, शिक्षा र परोपकारका क्षेत्रमा ठूला सम्भावना रहेको बताए । संस्थाभित्र कहिलेकाहीँ देखा पर्ने विवादलाई उनले “विशाल समुन्द्रभित्रका स्वाभाविक छाल” भन्दै ग्लोबल सञ्जालमा आइसल्यान्डको संलग्नता स्वयं उपलब्धि भएको टिप्पणी गरे ।

महिला उपाध्यक्ष रोजिना प्रधान राईले नयाँ समितिलाई शुभकामना दिँदै महिलाको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरिन् । महासचिव गौरीराज जोशीले केन्द्रीय कार्यालयसँग नियमित समन्वय गरी संस्थागत सुशासन बलियो बनाउन सुझाव दिए ।

कार्यक्रम युरोप संयोजक चिरञ्जीवी खड्काको संयोजकत्वमा र एनआरएनए युरोप सचिव भुवन अर्यालको सञ्चालनमा सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्