१९ बैशाख २०८२, शुक्रबार

एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली थाइल्यान्डमा

कोलोराडोखबर संवाददाता , April 24th, 2025

नेपाल । एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मङ्गलबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।

अप्रिल २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा समान तीन तीन पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ ।

घरेलु प्रतियोगितामा विकास नेपाल प्रहरी, विशेष एपीएफ र विपिन नेपाल आर्मीबाट खेल्नुहुन्छ । यस्तै महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्काले प्रतिस्पर्धा गर्नुहुनेछ । देवकीमाया बन्दी सहायता नियोग (पाम) मनीता प्रहरी र रञ्जना एपीएफका खेलाडी हुनुहुन्छ । ओलम्पिक समेत खेलिसक्नुभएकी मनीता पनि पामकै उत्पादन हुनुहुन्छ ।

अफिसियलमा नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापामगर, आईटीका रुपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसँगै थाइल्यान्ड जानुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गर्नुभयो ।

यस्तै सोही अवसरमा हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारण सभामा सहभागी हुन जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्य सोमबार थाइल्यान्ड प्रस्थान गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्