नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले मेची महाकाली राष्ट्रिय उद्धार यात्राको समुद्घाटन गर्नुभएको छ ।
उद्घाटनसँगै यात्रीहरूलाई दशैं टिका लगाइदिनु भएको उहाँले यात्राको क्रममा कुनै अवरोध भए आफूलाई तुरुन्त फोन गर्न भन्नुभएको छ ।
मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा कुनै कठिनाइ भए अप्ठ्यारो नमानी आफूलाई फोन गर्न आग्रह गर्नु भएको छ । उहाँले यात्रीहरूका लागि आफ्नो फोन हटलाइन सरह रहने बताउनुभयो ।
मानव सेवा आश्रमले हरेक वर्ष सडकपेटी र सार्वजनिक स्थलमा कस्तोपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्धारका लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा गर्दै आएको छ ।
यात्रीहरू आइतबार बिहान १० बजेको आसपासमा मेची पुल पुग्नेछन् र उद्धार कार्यको थालनी गर्नेछन् । उद्धार भएकाहरूलाई सम्बन्धित प्रदेशमा रहेको मानवसेवा आश्रमको सेवा केन्द्रहरूमा गृह प्रवेश गराइनेछ। यात्रामा ५० जना यात्रीहरू रहेका छन् ।
मानवसेवा आश्रमको ७ प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालित छन्। पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ७५८ जनाको उद्धार भएको थियो भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा ३०४ जनाको उद्धार भएको थियो ।
यो उद्धार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ। मानव सेवा आश्रम २०८२ साल भित्र नेपाललाई कोही पनि नागरिक खुल्ला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश नेपाल निर्माण गर्ने संकल्प सहित २०६९ सालदेखि क्रियाशील हुँदै आएको छ ।
कार्यक्रममा वरिष्ठ गायिका एवं समाजसेवी आनी, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले बोल्नुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्