नेपाल (हेटौंडा) । हेटौंडाबाट काठमाण्डौं जोड्ने तीन वटा छोटो दुरीको सडक नौ दिनपछी सञ्चालनमा आएका छन् ।
प्रदेश राजधानी जोड्ने छोटो दुरीका हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ्ग–काठमाडौ, कुलेखानी–महालक्ष्मी–चखेल–मातातिर्थ–काठमाडौं तिन वटा लोकमार्गहरु नौ दिनदेखि अवरुद्ध रहेकोमा आज आइतवार दिउँसोदेखि संचालनमा आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन मास्केले जानकारी दिए ।
यसैगरी मार्खु–चित्लाङ्ग–चन्द्रागिरी–काठमाडौं सडक बुधबारदेखि नै खुलेको थियो । असोज १० देखि १२ गते परेको अविरल वर्षादले देशभर आएको बाढीपहिरोका कारण अधिकाँस राष्ट्रिय लोकमार्ग तथा प्रादेशिक मार्गहरु अवरुद्ध भएकोमा कुलेखानी ड्याममुनिको डाइभर्सनको काम सकिएपछि फाखेल र सिस्नेरीको दुवैतर्फको मोटरबाटो आइतबार संचालनमा आएको उनले पत्रकार सम्मेलनमा बताए ।
दसै लागिसकेकोले सवारी साधनको आवागमनको चाप अत्याधिक हुने भएकाले सिस्नेरी र फाखेलतर्फ आउँदा एकातर्फबाट जाँदा अर्कोतर्फबाट सवारी साधन चलाउने विषयमा छलफल भइरहेको उनको भनाई छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्