३० भाद्र २०८१, आईतवार

अमेरिकाको बोस्टनमा ‘सुसेली साँझ’ हुँदै, सम्पूर्ण तयारी पूरा

कोलोराडोखबर संवाददाता , December 16th, 2023

–सुपेन्द्र बस्नेत/बोस्टन । अमेरिकाको बोस्टन सहरमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रम ‘सुसेली साँझ’ को तयारी पूरा भएको छ ।

बोस्टन स्थित ‘बोस्टन लोक सुसेली समूह’ले यही डिसेम्बर १६ तारिख शनिबार 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा आयोजना गर्न लागेको कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ।

संस्थाका संस्थापक तथा लोक तथा दोहोरी गीत गायक मिन केसीका अनुसार कार्यक्रम स्थलको व्यवस्थापन, अतिथिहरुलाई निम्तो, सहयोग टिक बिक्री, प्रचारप्रसार, माइक तथा क्यामराको व्यवस्थालगायत अन्य तयारीका कामहरु पुरा भएका छन् । गायक केसीले कार्यक्रमको मुख्य उद्देश्य ‘इन्द्रेणी कोष’का लागि आर्थिक सहयोग जुटाउने भएतापनि, नेपाली गीत तथा संगीतमय माहोल बनाएर सहभगीहरुलाई भरपूर मनोरञ्जन दिलाउने गरी आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् ।

उक्त कार्यक्रमका प्रमुख आकर्षक नेपाली लोक तथा दोहोरी गीत संगीतको कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक तथा नेपाली लोक तथा दोहोरी गीत गायक कृष्ण कँडेल न्यू इंग्ल्याण्ड आइसकेका छन् । शुक्रवार उनी न्यूहेम्सारको कार्यक्रममा सहभागी भएको र सनिवार विहानै बोस्टन आइपुग्ने गरी व्यवस्था मिलाइएको केसीले बताए । यतिबेला कंडेल अमेरिकाको विभिन्न सहरमा पुगेर सांगीतिक कार्यक्रमहरु गर्दै नेपाली समुदायसंग साक्षात्कार गर्ने दौडाहा अभियानमा व्यस्त रहेका छन् ।

त्यसैगरी, चर्चित लोक तथा दोहोरी गायिका निशा सुनार, गायक बिमल डाँगी र संगिता थापा न्यु योर्कबाट शनिवार नै कार्यक्रम स्थलमा आइपुग्ने भएका छन् । कार्यक्रममा लोक तथा दोहोरी गीत गायक कृष्ण कँडेल, निशा सुनार, बिमल डाँगी, मिन केसी, संगिता थापा, शान्ता थापालगायत कलाकारहरुले न्यू इंग्ल्याण्डवासीहरुसंग साक्षात्कार गर्दै आफ्ना सांगीतिक कोसेलीहरु पस्कने छन् ।

कलाकार केसीले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आवश्यक साथ र सहयोग गरिदिन आयोजकका तर्फबाट सम्पूर्ण न्यू इंग्ल्याण्डवासी नेपाली समुदायलाई विशेष अनुरोधसमेत गरेका छन् । आयोजकले कार्यक्रममा एकसय पचासको हाराहारमा सहभागीहरु रहने अनुमान गरेको छ। कार्यक्रममा सहभागी हुनेहरुका लागि आर्थिक सहयोग स्वरुप प्रति व्यक्ति एक सय डलर पर्ने प्रवेश टिकटको व्यवस्था गरेको छ । १० वर्ष मुनिका बालबालिकाहरुलाई भने प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

सन् २००७ मा नेपाली लोक तथा दोहोरी गीतरसंगीतको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सक्दो योगदान पुर्याउने मुख्य उद्देश्यले स्थापना भएको संस्था ‘बोस्टन लोक दोहरी समूह’ले कँडेलद्वारा सञ्चालित लोकप्रीय कार्यक्रम’इन्द्रेणी’को सहयोगार्थ सन् २०१७ मा ‘इन्द्रेणी कोष’को स्थापना गरेको थियो । त्यसैलाई निरन्तरता दिन भन्दै आयोजकले ‘सुसेली साँझ’को आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्