३१ भाद्र २०८१, सोमबार

कोलोराडोमा प्रज्ञा प्रतिष्ठानका कुलपति राईको सम्बोधन, यसरी मनाइयो देवकोटा जयन्ती

कोलोराडोखबर संवाददाता , December 3rd, 2023

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा डिसेम्बर २ तारिकका दिन ११५औं देवकोटा जयन्ती तथा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।

अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेत, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्मा, अनेसास नेपाल शाखाका पूर्व महासचिव ऋषवदेव घिमिरे, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदालको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा कवि मनोज तुलाधरले महाकवि देवकोटाको यात्री कवितालाई सुन्दर ढंगले बाचन गर्नु भएको थियो भने पुष्पराज पौडेलले देवकोटाको जीवनी र कृतित्वमा आधारित छन्द कविता प्रस्तुत गर्नु भयो ।

उक्त कार्यक्रममा डा. खगेन्द्र दाहाल, साबु गदाल र भुपेन्द्र महतले मन्तव्यसहित रचना बाचन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कूलपति राईले नेपालमा विद्यमान भष्ट संस्कृतिलाई परिवर्तन गर्नु जरुरी रहेको बताउनु भयो । ‘सबै भाषा–सबै ज्ञान, नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ सांस्कृतिक सत्ता र समानताका लागि साहित्यिक अभियान शुरु गरिएको पनि बताउनु भएको थियो ।

कोरोराडो क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम अनेसास कोलोराडो शाखाका महासचिव किरण अधिकारीले सञ्चालन गर्नु भएको थियो ।

नेपालीभाषा पाठशाला कोलोराडोका विद्यार्थीहरुले नेपाली र अंग्रेजी राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा ७५ भन्दा साहित्यप्रेमीहरुको सहभागिता थियो । साथै नव आजीवन सदस्यहरुलाई कुलपति राईबाट सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्