३१ भाद्र २०८१, सोमबार

अमेरिकामा नेपाली भाषा/साहित्यका स्रष्टाहरु सम्मानित, दुई कृति बिमोचित

कोलोराडोखबर संवाददाता , November 29th, 2023

सुपेन्द्र बस्नेत/बोस्टन । नेपाली भाषा तथा साहित्यका स्रष्टाहरु अमेरिकामा सम्मानित भएका छन् ।

नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्धन र प्रवर्धन गर्नमा अमूल्य योगदान पुर्याएका कारण स्रष्टाद्वय अनेसास नेपाल च्यप्टरका निवर्तमान महासचिव तथा कवि ऋषभदेव घिमिरे र कवि तथा साहित्यकार शकुन ज्ञवाली सम्मानित भएका हुन् । उनीहरुलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टर, अमेरिकाले सम्मान गरेको हो ।

गत आइतवार अमेरिकाको बोस्टन सहरस्थित पशुपतिनाथ बुद्ध मन्दिरमा अनेसास, बोस्टन च्याप्टर, अमेरिकाले आयोजना गरेको साधारणसभा तथा स्रष्टा सम्मान समारोहमा घिमिरे र ज्ञवालीलाई सम्मान गरिएको हो । अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा साहित्यकार भूपाल राईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा घिमिरेलाई सम्मानपत्र र शकुन ज्ञवालीलाई अनेसास ‘नारी तारा’ सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समुदायका विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर समुदाय तथा नेपाली साहित्यको उत्थानमा योगदान पुर्याएको भन्दै पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्डको बोर्ड अफ ट्रष्टीका सभापति सुशील पौडेल, कार्य समितिका अध्यक्ष बिष्णु कार्की, ग्रेटर बोस्टन नेपाली कम्युनिटीकी अध्यक्ष अञ्जु थापा, एनआरएनए उत्तरी अमेरिका क्षेत्रको पूर्व महिला संयोजक तृष्णा काफ्ले शर्मा, एनआरएनए मासाच्युसेट्सका अध्यक्ष प्रचण्ड श्रेष्ठ, नरउड लायन्सका अध्यक्ष जाल घिमिरे, मेट्रो वेष्ट नेपाली कम्युनिटी,नरउडका अध्यक्ष सुरेश ढकाल, सृजनशील महिला समूह, नरउडकी अध्यक्ष सानु बर्मा अधिकारी, संगीत क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु रञ्जन बुढाथोकी, प्रेम सागर खतिवडा, सुशील गौतम, राजकपुर, श्याम नेपाली, सुन्दर गुरुङ, राम थापा, मीन केसीलगायतलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियो ।

सोही अवसर पारेर साहित्यकारद्वय महेश्वर पन्तको ‘उडेका पैताला’ र अनु शाहको कविता कृति ‘अनुराग’को विमोचनसमेत गरिएको थियो । कार्यक्रमको दौरानमा कवि अनु शाह, कवि दीपा राई पुन र ममता कर्माचार्यले कविता वाचन गरेका थिए भने, कवि तथा साहित्यकार ऋषभदेव घिमिरेले ‘उडेको पैताला कविता सङ्ग्रह’ माथि समिक्षात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राईले प्रवासमा पनि नेपाली साहित्य र संस्कृति मौलाएको देख्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिदै नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धनमा प्रवासी नेपाली समाजले खेलेको भूमिका र पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरे । सम्बोधनका क्रममा उनले नेपाल सरकारले विदेशमा रहेका मौलिक नेपाली संस्कृति तथा पहिचान बोकेका नेपाली मन्दिर, गुम्बा तथा नेपाली सामुदायिक भवनहरू निर्माण तथा संरक्षण गर्न प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा, अनेसासका वरिष्ठ उपाध्यक्ष बिजय शर्मा, सम्मानित स्रष्टा शकुन ज्ञवाली, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेत, अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजालगायत अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्