७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्रीको विशेष चासोः विपिन जोशीको रिहाइमा सघाउन कतारलाई अनुरोध

कोलोराडोखबर संवाददाता , November 25th, 2023

काठमाडौँ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गर्नुभएको छ ।

नेपालको औपचरिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गर्नुभएको हो । मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यता, परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा परराष्ट्रमन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो ।

रिहाइको प्रतीक्षामा परिवार
यता, इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उहाँको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् ।

इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपीन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ । “छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ ।” विपीनका बुबा महानन्दले भन्नुभयो–“नेपाल सरकारले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदेओस् ।”

जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपीनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । “भगवान्सँग प्रार्थना गर्छु मेरो छोरो सकुशल मेरो काखमा आइपुगोस् ।” आमा पद्माले भन्नुभयो–“ विपीन घर फर्किने बाटो कुरेर बसेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्