१६ बैशाख २०८३, बुधबार

नेकपा एस मधेश सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

कोलोराडोखबर संवाददाता , June 5th, 2024

नेपाल । मधेश प्रदेश सरकारमा रहेको नेकपा (एकीकृत समाजवादी) का दुईजना मन्त्रीले मंगलबार राजीनामा दिएका छन् ।

नेकपा एसका संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेचु लुंगेलीले मंगलबार पदबाट राजिनामा दिएका हुन् ।

यसअघि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको छ ।

यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौँ पटक विश्वासको मत लिँदैछन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले डेढ वर्षको अवधिमा पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । ​

मुख्यमन्त्री यादवको साथमा नेपाली काग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ र लोसपाका ८ जनाको समर्थन हुने अवस्था रहेको छ ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलबीच सहमति भइसकेको बताइएको छ । जनमत पार्टीको नेतृत्वमा बन्ने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एस सहभागी हुने जनाइएको छ ।

मधेश प्रदेशमा जनमत पार्टीका १३, नेकपा एमालेका सभामुखसहित २५, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७ र नागरिक उन्मुक्तिका १ गरी ५४ मत हुने छ। । मधेश प्रदेशमा १०७ जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्