३ फाल्गुन २०८२, आईतवार

हेटौंडामा राष्ट्रिय शैक्षिक सम्मेलन शुक्रबारदेखि सुरु, तीन सय प्राध्यापकहरु सहभागी

कोलोराडोखबर संवाददाता , May 25th, 2024

नेपाल (हेटौंडा) । मकवानपुर जिल्लाको सबैभन्दा जेठो मकवानपुर बहुमुखी क्याम्पसले ‘उच्च शिक्षाका चुनौती, दिगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरण’ विषयक राष्ट्रिय शैक्षिक सम्मेलन हेटौंडामा शुक्रबारदेखि सुरु भएको छ ।

सामुदायिक, आंगिक र निजी गरी करिब सय सामुदायिक क्याम्पसका प्राध्यापकहरु सहभागी रहेको उक्त राष्ट्रिय शैक्षिक सम्मेलनको वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गरे । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले उच्च शिक्षामा प्राविधिक र व्यवहारिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताए । उच्च शिक्षालाई वाग्मती प्रदेश सरकारले नयाँ ढंगले अघि बढाउने प्रयास गरिरहेको उनको भनाइ थियो ।

अहिलेको शिक्षा सैद्धान्तिक भएकोले बेराजगारी बढेको, पलायनको स्थिति आएको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने, ‘वाग्मती प्रदेश सरकारले माध्यमिक शिक्षा नीति र उच्च शिक्षा नीति नयाँ ढंगले बनाएको छ । माध्यमिक तहका विद्यालय ग्रामीण क्षेत्र लक्षित गरी “एक वडा, एक आवासीय विद्यालय” बनाउने नीति लिएका छौं । उच्च शिक्षालाई प्राविधिक र व्यवहारिक बनाउछौ ।

मकवानपुर वहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा संचालित सम्मेलनमा वाग्मती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उच्च शिक्षामा समस्या रहेको र समस्या समाधानमा ध्यान जान नसकेको बताए ।

शनिबारसम्म संचालन हुने उक्त कार्यक्रममा प्राडा हिरण्य रत्न वज्राचार्य, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, हेटौंडाका मेयर मिनाकुमारी लामालगायतले उच्च शिक्षामा रहेका समस्याबारे बोलेका थिए । २ दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा देशभरका करिब तीन सय जना प्राध्यापकहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्