३० भाद्र २०८१, आईतवार

अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

कोलोराडोखबर संवाददाता , November 19th, 2023

काठमाडौं । एजेन्टलाई ८५ लाख बुझाएर अमेरिका पुगेका एक नेपालीको मृत्यु भएको छ ।

साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् ।

श्रेष्ठ गत भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।

गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए ।

हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।

मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् ।

अमेरिकास्थित विभिन्न निकाय र नेपालका सम्बधित पक्षसँग शव झिकाउन आवश्यक पहलकदमी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । अमेरिकातर्फ जानु अघि श्रेष्ठ काठमाडौंस्थित रञ्जना कम्प्लेक्समा पसल गर्थे ।

प्रतिक्रिया दिनुहोस्