नेपाल (हेटौंडा) । शुक्रबारदेखि हेटौंडामा बागमती प्रदेश युवा सम्मेलन सुरु भएको छ । युवा सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन् गर्नुभयो ।
उद्घाटन् हुनुअघि हेटौंडामा बाजा र झाँकीसहित हेटौंडा बजार परिक्रमा गरिएको थियो । बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य सहित हेटौँडामा युवा सम्मेलन गरिएको हो ।
युवा सम्मेलन यही बैशाख ३० गतेसम्म चल्ने छ । बागमती प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनमा सहभागिता रहेको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गरेको हो । जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइएको छ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइएको चौलागाईले बताउनुभयो ।
सम्मेलनमा सहभागी समावेशी अवधारणामा छनोट गरिएको छ । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले युवाको वृहत् हितका लागि सम्मेलन गरेको बताउँदै युवा प्रदेश नीतिका विषय, एआई, साइबर अपराध लगायतका विषयमा पनि छलफल गरिने उहाँको भनाइ छ ।
युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागाईले बताउनुभयो ।
सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टिकाराम यात्री र विश्वनाथ कोइराला लगायताको सहभागिता रहने आयोजकले जनाएको छ । सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण भन्ने मूल नाराका साथ हुने सम्मेलनमा सहभागीलाई पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने छ ।
तीन दिनसम्म चल्ने कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । यसअघि ११ बुँदे घोषणा पत्र जारी गर्दै पहिलो युवा सम्मेलन सकिएको थियो भने ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको युवा परिषद्को दाबी छ ।
सम्मेलन उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका मन्त्रीहरु वन तथा वातावरण मन्त्री केशवप्रसाद पोख्रेल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठ, प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल लगायतकाको आतिथ्यता थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्