७ जेष्ठ २०८१, सोमबार

कोशी प्रदेशमा फेरि सरकार फेरिंदै, नयाँ सरकार गठनका लागि आह्वान

कोलोराडोखबर संवाददाता , May 9th, 2024

नेपाल । बुधबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

नयाँ सरकार गठनका लागि वैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन् ।

सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री केदार कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

यसअघि नेकपा एमालेको समर्थनमा काँग्रेसका कार्की मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्