३ आश्विन २०८१, बिहीबार

लघुकथाः गुनासो

कोलोराडोखबर संवाददाता , November 13th, 2023

–सञ्जय साह मित्र–
एक हुल युवतीहरूले गुनासो गरे – सर, गेटमा केटाहरू उभिन्छन् । गेट साँघुरो छ । ओहोरदोहोर गर्न धेरै गाह्रो हुन्छ । सबैभन्दा बढी धक्का त्यहीँ हुन्छ ।

हुन्छ, केटाहरूलाई हटाउँछु – सरले आश्वासन दिनुभयो ।

आफैँ गएर गेटसम्म सरले केटाहरूलाई चेतावनी दिनुभयो – गेटमा उभिएको अब कसैलाई देखें भने कारवाही गर्छु ।

भीडबाटै कुनै केटाले जिस्कँदै सोध्यो – गेटमा कहिल्यै नउभिनेलाई ?

वाहवाही गर्छु – जवाफ फर्काउनुभयो । सरको बोली टाइट र भाषा राइट थियो । सरले कारवाही गर्ने भनेपछि केटाहरूमा भय उत्पन्न भयो । युवतीहरूले गुनासो गरेका केटाहरूले बानी बदले । युवतीहरूले पनि बानी बदले । अदलाबदली भयो ।

कतैबाट गुनासो नआई कारवाही हुँदैन । सिसिटिभीको स्क्रिनमा सबै तमासा देखिन्छन् तर कतैबाट कुनै गुनासो छैन । गुनासो नहुँदासम्म सबै सामान्य ।

केटाहरू उभिने गेट विस्तारै युवतीहरूले भरिन थाल्यो । पहिले उभिने केटाहरूभन्दा अझ बढी सङ्ख्यामा युवतीहरू उभिन थाले । पहिलेभन्दा अझ बढी धक्का हुन थाल्यो । पहिले गुनासो गर्ने युवतीहरू जसका विरुद्ध गुनासो गरेका थिए, तिनीहरूको स्थान लिए ।
–रौतहट ।

प्रतिक्रिया दिनुहोस्