२१ बैशाख २०८१, शुक्रबार

अमेरिकामा लगानीकर्ता फकाउँदै अर्थमन्त्री पुन

कोलोराडोखबर संवाददाता , April 18th, 2024

अमेरिका । अमेरिकामा रहेका अर्थमन्त्री वर्षमान पुन अहिले त्यहाँका लगानीकर्ताहरुलाई फकाउन व्यस्त रहेका छन् । यसैक्रममा अर्थमन्त्री पुनले मंगलबार राति अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरे ।

अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङ्टन डिसीमा भएको अन्तरक्रियामा मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे ।

भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो । नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए ।

अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा पुन अमेरिका पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्