–सञ्जय साह मित्र–
हाडबाहेक शरीरको अरु कुनै पनि अंग सही छैन । जीउमा मासु त छँदैछैन, चाउरिएर झोलिएको छालाले हाडलाई छोपे पनि खोपिल्टाहरुले वृद्ध जीर्ण शरीरले ऐतिहासिक धरोहररुपी खण्डहरको अनुभूति गराउँछ । ठ्याक्कै त होइन तर सय वर्षमा कम होला भन्ने कसैलाई लागेको छैन ।
जब अलिकति बिरामी पर्छिन् तब बुढी खुसी हुन्छिन् । मर्न पाइयो भनेर खुसी हुने संसारको पहिलो दुर्लभ प्राणी हुनुपर्छ तर खुसीमा जहिले पनि बाधा बनेर आइपुग्छ छिमेकी नाति । उसले निस्कनै लागेको प्राणलाई एउटा सूई दिन्छ र निस्कनै बाटो नै रोकिदिन्छ । जब बिरामी पर्छिन् बुढी तब भगवानको नाम लिँदै सराप्न थाल्छिन् नातिलाई – मेरो प्रिय मृत्युलाई मार्ने अप्रिय नातिको कहिल्यै कल्याण नहोस् ईश्वर ।
अहिले फेरि बिरामी परेकी छिन् बुढी । अन्न ग्रहण नगरेको चार दिन नाघिसकेको छ । कसैले डाक्टर बोलाउने नाम लिँदा उनैलाई सराप्न थाल्छिन् । औषधि खान छोडिसकिन् । मर्नको लागि निकै उत्सुक छिन् । आँखामा आशाको गज्जब चमक छ ।
नातिले नै अर्कै आफन्त डाक्टरलाई बोलाएर देखाउँछन् । डाक्टरले बुढीको कुरो गम्भीर भएर सुन्छन् । कुनै पनि मानिसले अहिलेसम्म यसरी बोलेको सुनेका छैनन् डाक्टरले । डाक्टरले अन्तिम दर्शन गर्न भनी आएका आफन्तहरूलाई सुनाउँछन्
– यति उत्साह भएको मानिस मर्नु नपर्ने हो । तपाईँहरू विश्वास लिनुस्, बुढी जानुहुन्न ।
अलिकति रोकिएर फेरि भन्छन् – मरणको हरण गर्ने भन्ने भ्रम परेको नातिलाई देख्नासाथ हजुरआमालाई हर्टअट्याक हुन सक्छ ।
–रौतहट ।
प्रतिक्रिया दिनुहोस्