१७ बैशाख २०८३, बिहीबार

कोलोराडोस्थित ब्लड डोनर्स अफ अमेरिकामा सल्लाहकार समिति गठन

कोलोराडोखबर संवाददाता , April 30th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोस्थित ब्लड डोनर्स अफ अमेरिका (BDA) को कोलोराडो च्याप्टरले नयाँ सल्लाहकार समिति (Board of Advisors) गठन गरेको छ ।

संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले सल्लाहकार समिती गठन गरेको हो । यसरी गठीत समितिमा समाजसेवामा लामो समयदेखि सक्रिय व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ । नवनियुक्त सल्लाहकारहरूमा भूषणलाल श्रेष्ठ, विजयदेव अधिकारी, टिका पौडेल र सम्झना पाण्डे रहेका छन् ।

भूषणलाल श्रेष्ठ नेपालदेखि नै लामो समयदेखि रक्तदान अभियानमा संलग्न रहँदै आएका एक परिचित समाजसेवी हुन् । उनी नेवाःखलः लगायत विभिन्न सामाजिक संस्थामा समेत सक्रिय छन् । त्यस्तै, विजयदेव अधिकारी एक परिचित व्यक्तित्व हुन्, जो INLS लगायत अन्य स्थानीय गतिविधिहरूमा संलग्न छन् ।

यसैगरी टिका पौडेल विभिन्न संघ संस्थामा सक्रिय रहँदै आएका र लामो समयदेखि BDA सँग आबद्ध सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन् । सम्झना पाण्डे एक चर्चित गायिका हुनुका साथै FNP-BC (Family Nurse Practitioner – Board Certified) समेत हुन् । उनी हाल प्राथमिक स्वास्थ्य सेवामा अभ्यासरत छिन् र सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउँदै आएकी छन् ।

BDA च्याप्टर अध्यक्ष नवराज मरासेनीले नवनियुक्त सल्लाहकारहरूले संस्थालाई अझ मजबुत बनाउँदै अगाडि बढाउन महत्वपूर्ण सुझाव र मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

BDA ले गत फेब्रुअरी २८ मा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो भने आगामी मे २४ मा INLS सँग सहकार्य गरी पुनः रक्तदान कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ ।

त्यसैगरी, जुन १३ र अगष्ट ३० मा पनि रक्तदान कार्यक्रम गर्ने तयारी रहेको अध्यक्ष मरासेनीले जानकारी दिएका छन् । यसका साथै, जुन १४ मा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम जूम मार्फत आयोजना गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्