नेपाल । बडादसैँको आठौँ दिन महाअष्टमीमा आइतबार नवदुर्गा भवानीको आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । माता महागौरीको स्वरूप अत्यन्त गोरो, शान्त र सौम्य छ । उहाँको वाहन वृष र सिंह हुन् । उहाँका चार हातमा त्रिशूल, डमरू तथा अभय र वरद मुद्रा रहेका छन् ।
‘श्वेत वृषे समारूढा श्वेताम्बरधरा शुचिः। महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।’ मन्त्रले पुकार गर्दै ‘या देवी सर्वभूतेषु माँ महागौरी रूपेण संस्थिता ।’ मन्त्रले महागौरीको प्रार्थना गरिन्छ ।
पौराणिक कथा अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउनका लागि हजारौँ वर्षसम्म कठोर तपस्या गर्नुभयो । लामो समयसम्म घाम, पानी, धुलो र आँधीबेहरी सहँदै तपस्या गरेका कारण उहाँको शरीर पूर्ण रूपमा कालो र मैलो भएको थियो । जब भगवान् शिव उहाँको तपस्याबाट प्रसन्न हुनुभयो तब उहाँले माता पार्वतीलाई स्वीकार गर्नुभयो । शिवजीले गङ्गाजीको पवित्र जलले माता पार्वतीको शरीर धोइदिनुभयो । गङ्गाजलको स्पर्श हुनासाथ माता पार्वतीको कालो वर्ण हटेर चन्द्रमा जस्तै दैदिप्यमान र गोरी हुनुभयो । उहाँको यो अत्यन्त गोरो र उज्ज्वल रूप देखेर भगवान् शिवले उहाँलाई ‘महागौरी’ नाम दिनुभयो ।
अर्को एक कथा अनुसार माता पार्वती
जब जङ्गलमा तपस्या गरिरहनुभएको थियो तब एउटा भोको सिंह उहाँलाई आफ्नो आहार बनाउने इच्छाले त्यहाँ आयो तर मातालाई तपस्यामा लीन देखेर ऊ त्यहीँ चुपचाप बस्यो । माता कहिले उठ्नु हुन्छ र खाऊँला भनी पर्खिरह्यो । यसरी बर्सौं बित्यो, मातासँगै त्यो सिंह पनि भोकभोकै त्यही स्थानमा बसिरह्यो । जब माता पार्वती तपस्याबाट उठ्नुभयो तब उहाँले सिंहलाई पनि आफूसँगै भोको र तिर्खाएको अवस्थामा बर्सौंदेखि बसेको देख्नु भयो । सिंहको यो तपस्या र धैर्य देखेर माता निकै प्रसन्न हुनुभयो । उसलाई आफ्नो वाहन बनाउनुभयो । त्यसैले माता महागौरीको वाहन सिंह र वृष दुवैलाई मानिन्छ ।
महाअष्टमी पर्व विशेष उत्साह र धार्मिक विधिपूर्वक मनाइन्छ । यस दिन देशका विभिन्न प्रसिद्ध शक्तिपीठमा भक्तजनको ठुलो घुइँचो लाग्छ । दसैँघर वा पूजाकोठामा स्थापना गरिएको कलश र जमरा राखेको ठाउँमा माता महागौरीको विशेष पूजा गरिन्छ । महाअष्टमीको रातिलाई ‘कालरात्रि’ भनिन्छ । यस रात तान्त्रिक विधिबाट देवी दुर्गाका नौ वटा रूप र संहारकी देवी शमहाकालीको विशेष महापूजा र होम–यज्ञ गरिन्छ । मध्यरातमा गरिने यो पूजालाई निकै शक्तिशाली र रहस्यमयी मानिन्छ ।
महाअष्टमीका दिन आसुरी शक्तिमाथि दैवीशक्तिको विजयको प्रतीक स्वरूप बोका, राँगा, कुखुरा वा हाँसको बलि दिने परम्परा छ । हनुमानढोकाको दसैँघरमा यस दिन राज्यका तर्फबाट ५४ वटा बोका र ५४ वटा राँगाको बलि दिइन्छ ।पशुबलि नदिने वा शाकाहारी परिवारले कुभिन्डो, घिरौँला, मुला वा नरिबल चढाएर (जसलाई साविक बलि भनिन्छ) पूजा गर्छन् ।
यस दिन सैनिकले आफ्ना हातहतियारको पूजा गर्छन् । सर्वसाधारणले आफ्ना सवारीसाधन (मोटरसाइकल, गाडी), मेसिनरी औजार र कलकारखानाका सामानलाई सफासुग्घर गरी बलिसहित पूजा गर्छन् ताकि भविष्यमा कुनै दुर्घटना नहोस् । दुई वर्षदेखि १० वर्षसम्मका ससाना बालिकालाई देवीको साक्षात् रूप मानेर उनीहरूको खुट्टा धोइदिने, टीका लगाउने र वस्त्र तथा दक्षिणा दिएर कन्या पूजा गरिन्छ । यस दिन नेवार समुदायमा ‘कुचि भ्वय्’ (दुई माना चिउरा राखेर खाइने विशेष भोज) खाने चलन छ । आमनेपाली घरपरिवारमा यस दिन खसी वा बोकाको मासुका विभिन्न परिकार बनाएर प्रसादका रूपमा ग्रहण गर्ने र पारिवारिक जमघट गर्ने गरिन्छ । महाअष्टमी शक्ति, साहस र आसुरी प्रवृत्तिको विनाशको कामना गर्दै परम्परागत विधि अनुसार हर्षोल्लासका साथ मनाइने दसैँको सबैभन्दा महìवपूर्ण दिनमध्ये एक हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्