नेपाल । भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ ।
उनीहरूले परियोजनाले पानी र बिजुलीको स्रोतमा चाप बढाउनुका साथै वातावरणमा क्षति पुर्याउने र अपेक्षाकृत कम रोजगारी सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन् ।
विशाखापटनममा निर्माण हुने उक्त डाटा सेन्टरका लागि जङ्गल र खेतीयोग्य जमिन खाली गर्न थालिएको छ । अमेरिकाबाहिर गुगलको सबैभन्दा ठूलो डाटा सेन्टर बन्ने यो परियोजनालाई भारतले आफ्नो प्रविधि क्षेत्र विस्तार गर्ने महत्वाकाङ्क्षी योजनाको प्रमुख हिस्साका रूपमा अघि बढाएको छ ।
स्थानीय किसान चन्दाला सदाम्माले आफ्ना आँप र काजुका रूख रहेका ठाउँमा अहिले रातो माटो मात्र देख्दा दुःख लाग्ने बताउनुभयो । दुई एकड जमिनबापत ८२ हजार डलरभन्दा बढी क्षतिपूर्ति पाए पनि जमिन गुमाउँदाको अनुभव तीतो रहेको उहाँको भनाइ थियो । “एउटा कम्पनी आयो र कुनै सम्मान नदेखाई हाम्रो जमिन लियो । हामीले त्यो स्वीकार गर्यौ,” ५० वर्षीया सदाम्माले भन्नुभयो ।
विशाखापटनम भारतलाई सिङ्गापुरसँग जोड्ने समुद्री इन्टरनेट केबलको प्रवेशबिन्दु भएकाले डाटा सेन्टर स्थापनाका लागि उपयुक्त मानिएको छ । गुगलका एसिया(प्रशान्त क्षेत्रका पूर्वाधार तथा ऊर्जा प्रमुख अलेक्जेन्डर स्मिथले यसमा गरिएको लगानी दशकौँ लामो प्रतिबद्धता भएको बताउँदै स्थानीय समुदायको हितलाई पनि प्राथमिकता दिइने जनाउनुभएको छ । आन्ध्र प्रदेश सरकारले क्षतिपूर्तिका अतिरिक्त परियोजनाबाट प्रभावित परिवारका लागि नयाँ आवास निर्माण गरी हस्तान्तरण भइरहेको जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्