नेपाल । त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिताका उपप्राध्यापक डा. देवराज अर्यालद्धारा लिखित कृति ‘स्थानबोध’ सार्वजनिक भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच वरिष्ठ हास्यव्यंग्यकार प्रा।डा। रामकुमार पाँडेले कृतिको सार्वजनिक गर्नुभएको हो ।
पाँडेले उक्त कृति नेपालको कुनै एउटा गाउँको मात्र नभएर समग्र भूगोलको प्रतिनिधित्व गर्ने भएको उल्लेख गर्नुभयो ।
पुस्तकका लेखक डा. अर्यालले आफ्नो जन्मस्थान नवलपरासीको द्वारीको सेरोफेरोमा केन्द्रित रहेर समग्र देशको वस्तुस्थितिबारे पुस्तकमा उतारेको बताउनुभयो ।
गाउँको माटो, बाल्यकालका स्मृति, सामाजिक सम्बन्ध, संस्कृति, भूगोल र विकासका विविध आयामलाई समेटेको ‘स्थानबोध’ले एउटा गाउँको कथा हुँदै समग्र समाज र देशलाई बुझ्ने दृष्टि प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राडा कुन्दन अर्याल, त्रिचन्द्र क्याम्पसका नेपाली विभागका प्रमुख डा. अंगदमणि गौतम, महेन्द्र रत्न ताहाचलका क्याम्पस प्रमुख प्रा।डा। ओम बराल, वरिष्ठ न्यूरो सर्जन डा। राजेन्द्र श्रेष्ठ, समाजसेवी पासाङ काजी शेर्पा, डा. शशी मरासिनी लगायतले पुस्तकको चर्चा गर्दै मुलुकको ग्रामीण जीवनमा आधारित सामग्रीको आवश्यकता रहेको बताउनुभयो ।
‘स्थानबोध’को विषयवस्तु बाल्यकालका सम्झनादेखि गाउँको आर्थिक जीवन, शिक्षा, कृषि, पशुपालन, संस्कृति, सञ्चार र राजनीतिक चेतनासम्म फैलिएको र आमाको श्रम, विद्यालय जीवन, साथीभाइसँगका स्मृति, गाउँका धार्मिक तथा सांस्कृतिक परम्परा र सामूहिक जीवनशैलीका प्रसङ्गले पुस्तकलाई आत्मीय बनाएको वक्ताहरूले बताउनुभएको थियो ।
पुस्तकमा गाउँको बदलिँदो यथार्थलाई पनि सूक्ष्म रूपमा केलाइएको छ । सडक र आधुनिक सुविधाको विस्तारसँगै उत्पादनमा आएको परिवर्तन, परम्परागत श्रम तथा सहकार्यको संस्कृति, कुलो र खेतसँग जोडिएको जीवन, गाउँको पारिस्थितिक प्रणाली र अन्तरनिर्भरताजस्ता विषयले विकासलाई भौतिक पूर्वाधारको विस्तारका रूपमा मात्र नहेरी मानिस, प्रकृति, संस्कृति र सामाजिक सम्बन्धसँग जोडेर बुझ्नुपर्ने सन्देश दिइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्