नेपाल । जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ ।
विश्व टी २० च्याम्पियन भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए । जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । राजनीतिक तनावका कारण भारत र पाकिस्तान अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रायः तटस्थ भूमिमा मात्र आमनेसामने हुने गरेका छन् ।
खेलअघि दुवै टोलीका कप्तानले परम्परागत रूपमा गरिने हात मिलाउने कार्यसमेत गरेनन् । खेलपछि भारतीय खेलाडीले मैदानमा राष्ट्रिय झण्डा फहराउँदै जितको खुसी मनाए । जापानको बेसबल मैदानलाई क्रिकेट मैदानमा परिणत गरी खेलाइएको फाइनलमा दक्षिण एसियाली क्रिकेटका समर्थकको उल्लेख्य उपस्थिति थियो ।
भारतले टस जितेर ब्याटिङ रोजेपछि वैभव सूर्यवंशीले साद मसुदको दोस्रो ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे । उक्त ओभरमा २४ रन बने पनि सूर्यवंशी चार बलपछि १५ रनमा आउट भए । अभिषेकले २० बलमै अर्धशतक पूरा गरे । पाकिस्तानको कमजोर फिल्डिङको फाइदा उठाउँदै उनले दुई पटक जीवनदान पाए । ४६ रनमा रहँदा उनी रनआउट हुनबाट समेत जोगिए ।
अभिषेक ६१ रनमा आउट भएपछि पाकिस्तानका बलरले खेलमा नियन्त्रण जमाउन थाले । इशान किशन २० तथा कप्तान श्रेयस अय्यर २१ रनमा आउट भएपछि भारत १५औँ ओभरमा १३३(५ को अवस्थामा पुगेको थियो । तर तिलक वर्मा र शिवम दुबेले आक्रामक ब्याटिङ गर्दै भारतको स्कोर २०० रनभन्दा माथि पुर्याए । उनीहरूले छैटौँ विकेटका लागि पाँच ओभरमा ६२ रनको साझेदारी गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्