नेपाल । लेखक आचार्य कमल रिजालको पुस्तक ‘दर्शनागार’ लोकार्पण गरिएको छ ।
शिखा बुक्स प्रालिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार शैलेन्द्र अधिकारी, डा. नवराज लम्साल, भागवत ढकाल र लेखक आचार्य कमल रिजालले सो पुस्तकको संयुक्त रूपमा लोकार्पण गरिएको हो ।
साहित्यकार शैलेन्द्र अधिकारीले लेखक रिजालको ‘दर्शनागार’ मा पूर्वीय दर्शनका साथै इस्लामिक दर्शन र लेखक स्वयम्ले आफ्नो दर्शनको समेत प्रतिपादन गरेर लेख्नुभएको बताउनुभयो । उहाँले सरल शैलीमा लेखिएको यस पुस्तकको माध्यमबाट दर्शनशास्त्रको भर्खर अध्ययन गर्न थालेका पाठकले पनि दर्शनशास्त्रबारे बुझ्न सजिलो हुने बताउनुभयो ।
साहित्यकार अधिकारीले आफूले दर्शनशास्त्रबारे विश्वविद्यालयको पाठ्यक्रममा राखिएकाले उत्तीर्ण गर्नका लागि मात्र पढेको, यसबारे गहिरो अध्ययन नगरेको अनुभव सुनाउँदै दर्शनागारमा प्रयोगात्मक, कथावाचन र संवाद शैलीमा दर्शनशास्त्रबारे बुझाउन खोजिएकाले सरल लागेको बताउनुभयो ।
सर्जक एवं पूर्वप्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ ले ‘दर्शनागार’ पुस्तक पढ्दा ओखर फुटाएर खाएको अनुभव भएको बताउनुभयो । उहाँले ओखर सुरुमा कडा लाग्छ तर भित्रको गुदी मिठो हुन्छ भन्दै दर्शनागारले पाठकलाई दर्शनको समग्र पक्षका बारेमा बुझाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दर्शन, अध्यात्मका क्षेत्रमा लामो समयदेखि कलम चलाइरहेका सर्जक रिजालको उचित मूल्याङ्कन नभएको दाबी गर्नुभयो ।
भागवत ढकालले पूर्वीय दर्शनमा विवेकलाई प्रधान मानिएको र पश्चिमा दर्शनमा पदार्थलाई प्रधान मानिएको छ भन्दै जिज्ञासाको उत्तर नै दर्शन भएकोले पूर्वीय र पश्चिमा दर्शनको तुलनात्मक अध्ययन गर्न चाहने पाठकका लागि यस पुस्तक उपयुक्त हुने विचार व्यक्त गर्नुभयो । उहाँले जीवनको हरेक पलमा दर्शन सङ्ग्रहनीय र पठनीय रहेको तथा यस पुस्तकमा दर्शनको हरेक भूमिकाबारे पढ्न पाइने बताउनुभयो ।
डा. नवराज लम्सालले अध्यात्म र दर्शनका २१ वटा पुस्तक प्रकाशित गरिसकेका लेखक रिजालको ‘दर्शनागार’ ले आफैँमाथि प्रश्न गर्न हरेक पाठकलाई प्रेरित गर्ने जानकारी दिनुभयो । लेखक आचार्य कमल रिजालले आफूले नामको अगाडि लेख्दै आउनुभएको आचार्य शब्द पढेर हासिल गरेको उपाधि हो भन्दै करिब १० वर्षदेखिको अध्ययन, लेखनको उपज ‘दर्शनागार’ पढेर प्रतिक्रिया दिन पाठकलाई आग्रह गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्