२५ भाद्र २०८३, बिहीबार

जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का हुन आह्वान

कोलोराडोखबर संवाददाता , September 10th, 2026

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले विपद्को समयमा सत्ता र प्रतिपक्षको परम्परागत घेराभन्दा माथि उठेर जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का हुन आह्वान गरेका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै दल र संयन्त्र एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे। सरकारले दिनरात नभनी खोजी र उद्धारमा सक्दो प्रयास गरिरहेको बताउँदै उनले प्रियजन गुमाएका पीडितहरूले राज्यले केही गरेन भनेर गर्ने गुनासो र आक्रोशलाई अन्यथा लिन नहुने स्पष्ट पारे।

विपत्तिमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीडित भएको बताउँदै उनले यस सङ्कटको कारक ती विपन्न नागरिक नभएको दाबी गरे।

यसैगरी, लामिछानेले कठिन परिस्थितिमा उद्धार र खोजीमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूको उच्च प्रशंसा गरे। यस राष्ट्रिय पीडाको घडीमा मित्रराष्ट्रहरूबाट प्राप्त साथ र सहयोगका लागि धन्यवाद दिँदै उनले सङ्कटका बेला निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपालीहरूले गरेको महत्त्वपूर्ण योगदानको समेत सराहना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्