नेपाल । प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबिच आज टेलिफोन संवाद भएको छ।
शुक्रबार बिहान भएको टेलिफोन संवादमा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाका प्रधानमन्त्रीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सो क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण हिमबाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरुले देखाउनुभएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
साथै, उहाँले नेपालको यस विपद्को समयमा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। खासगरी अष्ट्रेलिया सरकारले विशेषज्ञसहित ड्रोन अपरेटरको टोलीसहित अत्यावश्यक राहत सामग्री पठाउँदै आर्थिक सहयोगसमेत गरेकोमा प्रधानमन्त्री शाहले आभार गर्नु भएको छ ।
प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता हुनुभएका अष्ट्रेलियाली नागरिकहरुका खोजी कार्यमा सरकारले उच्च चासो दिएको उल्लेख गर्दै खोजी कार्य तीव्र पारिरहेको प्रष्ट पार्नुभयो। नेपाल र अष्ट्रेलियाबिच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपत्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलिया सरकारसँग निरन्तर समन्वय र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।
संवादका क्रममा अष्ट्रेलियाका प्रधामन्त्री एन्थोनीले बिपतका कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गर्नुभयो । उहाँले अस्ट्रेलिया सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको नेपालस्थित अष्ट्रेलियाको दूतावासले जनाएको छ।
हिमबाढीबाट भएको जनधनको क्षति अत्यन्तै मर्माहत पार्ने खालको रहेको उल्लेख गर्दै अझै पनि सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकहरूको खोजी गर्न हरसम्भव सहयोग गर्ने उहाँको भनाइ छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्