नेपाल । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विदेशी पर्यटकसहित जम्मा चार हजार चार सय ७२ जना मानिसहरू अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको नेपाल प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यस विपद्का कारण ठूलो सङ्ख्यामा मानिसहरू बेपत्ता भएको आधिकारिक विवरण जानकारी गराएका छन्। प्रवक्ता काफ्लेका अनुसार सम्पर्कविहीन भएका कुल व्यक्तिहरूमध्ये नेपाल प्रहरीका मात्रै २५ जना कर्मचारीहरू रहेका छन्, जसमध्ये ३ जनाको शव फेला परिसकेको र उनीहरूको पहिचानसमेत भइसकेको छ।
बाढीमा परेर सम्पर्कविहीन भएका अन्य विभिन्न कार्यालयका कर्मचारी तथा जनशक्तिहरूमा भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, विभिन्न ८ वटा बैंक शाखाहरूका २६ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा विभिन्न ८ वटा हाइड्रोपावर कम्पनीमा कार्यरत ९ सय ३३ जना रहेका छन्।
यसैगरी, विभिन्न जिल्ला तथा क्षेत्रहरूबाट प्राप्त तथ्यांकअनुसार रसुवाबाट ५ सय ६२ जना, नुवाकोटबाट १ सय १५ जना, मकवानपुरबाट ६५ जना र सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। यसैगरी, काठमाडौं उपत्यकामा ४ सय ८१ जना र कोशी प्रदेशमा १ सय ३८ जना मानिसहरू सम्पर्कविहीन रहेको टििपएको प्रहरीले जनाएको छ।
बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित केही स्थानीय जनप्रतिनिधिहरू समेत बेपत्ता भएको जानकारी प्राप्त भएको प्रवक्ता काफ्लेले बताएका छन्। यसरी सम्पर्कविहीन हुने कुल मानिसहरूमा ७ सय ४५ जना आन्तरिक तथा बाह्य (विदेशी) पर्यटकहरू समेत रहेका छन्।
हालसम्म बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उद्धारका क्रममा ७ सय ८८ वढी शवहरू फेला परेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्