२३ श्रावण २०८३, शनिबार

कविता: इच्छा

कोलोराडोखबर संवाददाता , August 8th, 2026

-सुदीपभद्र खनाल-

मान्छेका अनुहार हैन मननै चिन्ने र बुझ्ने बनूँ
भान्सेका व्यवहारभित्र समता आदर्श भर्ने बनूँ
आफ्नो स्वार्थ निमित्त होइन सदा सर्वोच्च लोकोहित-
मानी; मानवता निमित्त म लडी हाँसेर मर्ने बनूँ

फालूँ द्वेष र कामना भ्रम क्षुधा आवेष ईर्ष्याहरू
रोपूँ नित्य सुभावना सहृदयी सद्भावनाका तरु
मेरो मात्र म निम्ति मात्र नभनू हाम्रो र राम्रो भनू
मान्छेका मनमा बसूँ नजरको नानी म सानो बनूँ

पैसामा पदमा र लोभ मदमा कैल्यै नबिक्ने बनूँ
स्वाभीमान सुकर्म सत्य पथमा कैल्यै नझुक्ने बनूँ
चोखो उच्च हिमाल श्वेत म बनूँ ज्वाजल्य आभा बनूँ
निर्धाको भर शक्ति आर्त निमुखाको बोल आँखा बनूँ

मान्छेभित्र मनुष्यता मृदु भरी एकत्व माया भरूँ
धर्तीमा वसुधैव भाव म छरी यो विश्व यौटै गरूँ
कुण्ठा मोह र क्रोध मुक्त मनको भित्री उज्यालो छरी
प्रज्ञायुक्त प्रदीप्त दीपक बनी आदर्श नौलोछरूँ

भित्री भर्न सकूँ प्रगल्भ नबनूँ दासी अहंकारको
मान्छे बन्न सकूँ उदात्त नबनूँ दुत्कार संसारको
सच्चा सभ्य विनम्र भद्र विनयी सत्कर्म सेवी बनूँ
चुक्तागर्न सकूँ सबै ऋणहरू उन्मुक्त हूँ सिद्द हूँ

प्रतिक्रिया दिनुहोस्