२३ श्रावण २०८३, शनिबार

कविता: रूख हुँ म स्याउको…

कोलोराडोखबर संवाददाता , August 8th, 2026

-लालगोपाल सुवेदी-
रूख हुँ म आफैमा स्याउको
पाकेर एउटा स्याउ भुइँमा खस्यो कि
ठूलो अन्तर्बोध हुन्छ
न्युटन जन्मिन्छ
ब्युँझन्छ गुरुत्वाकर्षण
स्वत्व,अपनत्व
मेरो प्रेमको महत्त्व
युगयुग फलीभूत हुन्छ
पात झरेको
फेरि पलाएको,
बिरुवाहरू आएको
खोला सुसाएको
चराहरूले गाएको
धर्तीकै लागि हो
प्रीतिकै लागि हो
यसैले अब यो श्वास
यो बतास गीतकै लागि हुन्छ
भन भन यो गुरुत्वाकर्षण- गीत
अब कसले सुन्छ ?
ओ धर्ती, ओ पृथ्वी
म आफै हुँ
गुरुत्वाकर्षणको अनुपम उदाहरण
ढल्नेछ एक दिन बूढो रूख
रूख हुनेछु आफैमा म स्याउको
हो ,फैलिने स्वाभाव छ आकाशमा
एउटा पलले, अर्को पलले,अझ अर्को पलले
लिन्छ लिन्छ अवतार लिन्छ
अवतार लिन्छ अवतार लिन्छ
यति सजिलै पृथ्वी कहाँ नासिन्छ?
यही धर्तीमा
धेरै धेरै धेरै फलहरू दिने
रहरलाग्दो अब नव स्याउको रूख उभिन्छ
पक्का उभिन्छ !

प्रतिक्रिया दिनुहोस्