२१ श्रावण २०८३, बिहीबार

कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप छ उपसमिति गठन

कोलोराडोखबर संवाददाता , August 6th, 2026

नेपाल । नेपाली कांग्रेसले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न थप छ उपसमिति गठन गरी संयोजक तोकेको छ।

कांग्रेसका उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले आज सो निर्णय गरेको हो।

बैठकले अन्तरराष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजकमा कैलाश केसी, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजकमा प्रतीक्षा चापागाईंलाई जिम्मेवारी तोकेको छ।

यसैगरी ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकमा अनुपा श्रेष्ठ, सीमान्तीकृत वर्ग र समुदायः संवाद र सशक्तीकरण उपसमितिको संयोजकमा नरेन्द्र पासवान र स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई जिम्मेवारी तोकिएको पार्टी कार्यालयले जनाएको छ।

बैठकले प्रतिष्ठान प्रमुखले पार्टी सभापतिसँगको परामर्शमा हालसम्म गठन भएका उपसमितिहरूलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ उपसमिति गठन गरिएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्