नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
घटनापछि मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै उनले सरकारसँग घटनाको जवाफ माग्ने र दोषीलाई जवाफदेही बनाउने स्पष्ट गरे।
प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै थापाले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
थापाले ‘ओमप्रकाश मेहतामाथि ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ भन्ने प्रश्न सरकारसँग रहेको उल्लेख गर्दै यसको सत्यतथ्य सार्वजनिक गर्न र जिम्मेवारी लिन सरकार तयार हुनुपर्ने बताएका छन्।
उनका अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही हुनु आवश्यक छ।
यद्यपि, अहिले परिस्थिति संवेदनशील बन्दै गएकाले सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र स्थानीय समुदायले संयमता अपनाउनुपर्नेमा उनले जोड दिएका छन् । संयमता गुमाए र जिम्मेवारी निर्वाह गर्न नसके समाजले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि उनले दिएका छन् ।
सभापति थापाले अहिले अफवाह, उत्तेजना र प्रतिशोध होइन, धैर्यता, संवाद र सामाजिक सद्भाव आवश्यक रहेको बताए । विविधतामा एकता, धार्मिक सहिष्णुता र आपसी बन्धुत्व नै नेपाली समाजको पहिचान भएको उल्लेख गर्दै उनले यही मूल्यलाई वर्तमान परिस्थितिमा मार्गदर्शक बनाउन आग्रह गरे ।
उनले नेपाली कांग्रेसका स्थानीय नेताकार्यकर्तालाई घाइतेको उपचारमा सहयोग गर्न, पीडित परिवारको साथमा उभिन तथा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न निर्देशन दिएका छन् ।
साथै सबै राजनीतिक दल, सामाजिक संघसंस्था, स्थानीयवासी र आमनागरिकलाई हिंसा र आक्रमणको बाटो त्यागेर संवाद, संवेदना र संयमतामार्फत समस्याको समाधान खोज्न अपिल गरेका छन् ।
थापाले अन्त्यमा गल्ती गर्ने जोसुकै भए पनि कानूनअनुसार कारबाही हुनुपर्ने दोहोर्याउँदै सरकारले घटनाको जिम्मेवारी लिनैपर्ने र नागरिकले पनि आफ्नो सामाजिक दायित्व पूरा गर्नुपर्ने बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्