८ श्रावण २०८३, शुक्रबार

गत आवमा तीन खर्ब १५ अर्बको वस्तु निर्यात

कोलोराडोखबर संवाददाता , July 24th, 2026

नेपाल । नेपालको निर्यात व्यापारले पहिलो पटक तीन खर्बको आँकडा पार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२–८३ को तथ्याङ्क अनुसार कुल तीन खर्ब १५ अर्ब २९ करोडको वस्तु निर्यात भएको छ ।

अघिल्लो आवमा कुल दुई खर्ब ७७ अर्बको निर्यात भएकोमा गत आवमा १३.८१ प्रतिशत निर्यात बढ्दा तीन खर्बको सीमा पार गरेको हो । समीक्षा अवधिमा आयात भने १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ ।

गत आवमा सबैभन्दा धेरै भटमासको तेल एक खर्ब २८ अर्बको निर्यात भएको छ । दोस्रो स्थानमा रहेको अलैँची १२ अर्ब ६४ करोडको निर्यात भएको तथ्याङ्कले देखाएको छ । १० अर्बको गलैँचा निर्यात भएको छ । त्यस्तै आठ अर्ब ९४ करोड रुपियाँ बराबरको सूर्यमुखीको बिउ तथा तेल निर्यात भएको छ । गत आवमा जुट निर्यात सात अर्ब १४ करोड पुगेको छ ।

२० खर्ब ९६ अर्बको आयातमा सबैभन्दा धेरै हिस्सा ओगटेको डिजेल मात्रै यस वर्ष एक खर्ब ७२ अर्ब रुपियाँको आयात भएको छ । त्यसपछि कच्चा भटमास तेल एक खर्ब ३१ अर्बको आयात भएको देखिन्छ । नेपालमा भटमासको कच्चा तेल आयात गरी प्रशोधनपश्चात् निर्यात गरिने भएकाले आयातनिर्यात दुवैमा यसको हिस्सा उल्लेख्य रहन पुगेको हो ।

तेस्रो स्थानमा पेट्रोल ७७ अर्ब २६ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । यसपछि खाना पकाउने एलपी ग्यास ६० अर्ब २८ करोड रुपियाँको आयात भएको छ । पाँचौँ स्थानमा रहेको फलामे छड ५८ अर्ब ५२ करोड रुपियाँको आयात भएको छ । गत आवमा स्मार्ट फोन मात्र ४८ अर्ब ६९ करोड रुपियाँको आयात भएको देखिएको छ ।

गत आवमा कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब पुगेको विभागले जनाएको छ । अघिल्लो आवमा यस्तो घाटा १५ खर्ब २७ अर्ब रुपियाँ बराबर थियो । कुल व्यापारमा आयातको हिस्सा ८६।९३ प्रतिशत छ, जुन अघिल्लो आवको तुलनामा ०।२७ प्रतिशतले बढी हो । निर्यातको हिस्सा १।७९ प्रतिशत विन्दुले घटेर १३।०७ कायम भएको छ । गत आवमा सबैभन्दा धेरै व्यापार घाटा मुख्य व्यापारिक साझेदार मुलुक भारतसँगै नौ अर्ब ५१ करोड रुपियाँ बराबरको रहेको छ ।

भारतमा सोे वर्ष दुई खर्ब ५८ अर्ब करोड रुपियाँको मात्र निर्यात हुँदा १२ खर्ब १० अर्ब रुपियाँ बराबरको आयात भएको देखिन्छ । दोस्रो साझेदार चीनसँग नेपालले चार खर्ब २३ अर्बको व्यापार घाटा बेहोरेको छ । नेपालले चीनतर्पm एक अर्ब ८९ करोड रुपियाँको मात्र निर्यात गर्न सकेको छ । नेपालले अर्जेन्टिनासँग पनि ठुलो व्यापार घाटा बेहोरेको देखिन्छ । त्यहाँबाट एक खर्ब १६ अर्बको वस्तु आयात हुँदा एक करोड ८५ लाख रुपियाँको मात्र निर्यात भएको छ । अर्जेन्टिनाबाट मुख्यतः भटमास र तोरी जस्ता तेलहन आयात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्