नेपाल । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरी दुई प्रतिशत घटाएको छ । इन्धनको मूल्य घटेपछि विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो ।
बिहीबारदेखि लागु हुने गरी यात्रुवाहक सवारी, पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर दुई प्रतिशतले घटेको विभागले जनाएको छ ।
विभागका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर ४३ रुपैयाँको गिरावट छ । यसअघि डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५.८३ रुपियाँ रहेकोमा घटेर हाल १९२.८३ रुपियाँ कायम भएको छ । करिब १८.२३ प्रतिशतले गिरावट हुँदा दुई प्रतिशत मात्रै भाडा समायोजन भएको छ ।
वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ तर इन्धनको मूल्य १८ प्रतिशतसम्म घट्दा पनि विभागले सबै प्रकारका सवारीसाधनमा दुई प्रतिशत मात्र घटाउने निर्णय गरेको छ । विभागले २०८३ वैशाख १६ गते पाँच प्रतिशत भाडादर वृद्धि गरेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्