नेपाल । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाइ मागेर दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार १८ गतेको पेसी तोक्न आदेश गरेको छ ।
संयुक्त इजलासले दीपक भट्टसमेत प्रतिवादी भई विशेष अदालतमा दायर मुद्दाको मिसिल मगाउने आदेश गरेको छ । यस्तै भट्टसमेत विपक्षी भई उच्च अदालत पाटनमा दायर बैङ्किङ कसुर मुद्दाको सक्कल मिसिल झिकाउने पनि आदेश गरेको छ । अदालतले आशिष श्रेष्ठसमेत प्रतिवादी रहेको बिमासम्बन्धी कसुर मुद्दाको मिसिल जिल्ला अदालत काठमाडौँबाट झिकाउने पनि आदेश गरेको छ ।
यस्तै नेपाल सरकार वादी भई जिल्ला अदालत काठमाडौँमा दर्ता भएको प्रतिवादी सुलभ अग्रवालसमेतको मुद्दाको मिसिल झिकाउन पनि सर्वोच्चले आदेश गरेको छ । दीपक भट्टसमेत प्रतिवादी भएको धितोपत्रसम्बन्धी कसुरको जिल्ला अदालत काठमाडौँमा दायर मुद्दाको मिसिल झिकाउन पनि सर्वोच्चले आदेशमा भनेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्