नेपाल । रास्वपाका सभापति रवि लामिछानेले मुलुकको द्रुत विकास र राजनीतिक स्थिरताका लागि राजनीतिक दलबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यक्तिगत तथा दलीय वैमनस्यता त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उद्घाटन समारोहमा मन्तव्य राख्दै सभापति लामिछानेले नयाँ पुस्ताका राजनीतिज्ञ ठुलो हृदय बोकेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपा बाहिरी शक्तिका कारण नभई पराजित भए आफ्नै आन्तरिक कमजोरीका कारण मात्र पछि पर्न सक्ने धारणा राख्नुभयो ।
रास्वपाको नेतृत्वमा देश पूर्ण रूपमा सुरक्षित रहेको विश्वास दिलाउँदै सभापति लामिछानेले अघिल्लो पुस्ताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न पार्टी कटिबद्ध रहेको प्रष्ट पार्नुभयो ।
सरकार सञ्चालनको सन्दर्भमा बोल्दै सभापति लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहसँगको समझदारीमा कुनै समस्या आउन नदिने घोषणा गर्नुभयो ।
सोही क्रममा सभापति लामिछानेले मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र देखिएका आन्तरिक अप्ठ्यारा र विवाद तत्काल सुल्झाउन आग्रह गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्