७ असार २०८३, आईतवार

जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो

कोलोराडोखबर संवाददाता , June 21st, 2026

नेपाल । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ । परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच मणिकमाणिक्य जडित बहुमूल्य भोटो प्रदर्शन गरिएको हो ।

भोटो देखाउने ऐतिहासिक कार्यक्रममा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो ।

हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने ऐतिहासिक परम्परा रहिआएको छ ।लिच्छवीकालदेखि नै मनाउन सुरु गरिएको विश्वास गरिने यो भोटो जात्रा उपत्यकाकै सबैभन्दा लामो र महत्त्वपूर्ण सांस्कृतिक पर्वहरूमध्ये एक हो ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको यो ऐतिहासिक भोटो अवलोकन गर्न शनिबार जावलाखेलमा सर्वसाधारणको निकै बाक्लो उपस्थिति रहेको थियो । गुठी संस्थानका अधिकारीले रथको चारै कुनाबाट भोटो देखाएपछि यो वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा औपचारिक रूपमा सम्पन्न हुने प्रक्रियामा अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्