नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन् ।
सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको बहस कार्यक्रममा बोल्दै थापाले सुशासनको मुद्दा नै निर्वाचनको सबैभन्दा ठूलो मुद्दा रहेको उल्लेख गरे । उनले आफ्नो पार्टीभित्र पनि लामो समयदेखि सुशासनको विषय उठाउँदै र त्यसलाई स्थापित गर्न संघर्ष गर्दै आएको बताए ।
उनले नेपालमा भ्रष्टाचार विगतदेखि विद्यमान रहेको र अझ बढ्दै गएको दाबी गर्दै भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित प्रगति गर्न नसकेको तथ्यहरूले पनि देखाएको बताए । थापाका अनुसार राजनीतिक दल तथा दलसँग सम्बन्धित व्यक्तिहरू सार्वजनिक पदमा पुगेर अख्तियारको दुरुपयोग गर्ने, अवैध रूपमा सम्पत्ति आर्जन गर्ने र त्यसलाई वैध बनाउने प्रवृत्तिबारे नागरिक तहमा व्यापक चर्चा हुने गरेको छ ।
यस्ता गतिविधि रोक्न र नियन्त्रण गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना गरिएको भए पनि कानुनी सीमितता र नियुक्ति प्रक्रियामा देखिएका स्वार्थका द्वन्द्वका कारण संस्थाको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको उनले बताए।
थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको मुलुकमै आयोगको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक पदाधिकारीहरू नै अवैध सम्पत्ति आर्जनका घटनामा बढी संलग्न रहेको भन्ने धारणा नागरिकहरूमा रहेको उल्लेख गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्