नेपाल । यस वर्षको वसन्तकालीन आरोहणमा हालसम्मकै सर्वाधिक ८८० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । वैशाख ३१ गते सुरु भएको सगरमाथा आरोहणमा आइतबारसम्म आरोही र सहयोगी शेर्पा गरेर ८८० जनाले चुचुरो टेकेका छन् ।
खुम्बु क्षेत्रको पर्वतारोहणसम्बन्धी गतिविधि व्यवस्थापनका लागि सगरमाथा आधार शिविरमा स्थापना गरिएको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमका अनुसार आइतबारसम्म ९० प्रतिशत आरोहण सम्पन्न भएको छ ।
वसन्तकालीनयाममा सगरमाथा आरोहण सकिने समय (जेठ १५) नजिकिँदै जाँदा यस वर्ष सगरमाथामा थुपै कीर्तिमानसमेत कायम भएको जनाउँदै उहाँले आरोहण सुरक्षाका हिसाबले समेत यस वर्ष न्यून मानवीय क्षतिसहित सुरक्षित आरोहण भएको जनाउनुभयो ।
पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथामा कामिरिता शेर्पाले ३२ औँ पटक चुचुरोमा पुगेर कीर्तिमान बनाउनुभएको छ । त्यस्तै महिलातर्फ लाक्पा शेर्पाले सर्वाधिक ११ औँ पटक सगरमाथा आरोहण पूरा गर्नुभएको छ । त्यस्तै कामिरिताभन्दा एक कदम पछि रहेका पासाङ दावा शेर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण पूरा गर्नुभएको छ । त्यस्तै अर्का प्रसिद्ध आरोही दोर्जी ग्याल्जेनले पनि २४ औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता र पासाङ दावालाई पछ्याइरहनुभएको छ ।
चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथा २० औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको नयाँ कीर्तिमान बनाउनुभएको छ ।
यसै गरी यस वर्ष अस्ट्रेलियाकी १८ वर्षीय आरोही बियान्का एडलरले सफलतापूर्वक सगरमाथा आरोहण गरेर सबैभन्दा कम उमेरकी अस्ट्रेलियन आरोहीको कीर्तिमान बनाउनुभएको छ । यसै गरी कम्मरमुनिको भाग नभएका (डबल एम्प्युटी) रुसका पर्वतारोही रुस्ताम नाबिएभले हातको सहारामा सगरमाथाको आरोहण गरेर इतिहास रच्नुभएको छ ।
यसअघि सन् २०२३ मा घुँडासम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढाले सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढाले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
यस वर्ष आरोहणका क्रममा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीमध्ये पाँच जनाको सगरमाथामा र दुई जनाको मकालु हिमालमा मृत्यु भएको हो । मृत्यु हुनेमा तीन जना नेपाली र चार जना विदेशी नागरिक छन् । विदेशीमध्ये दुई भारतीय, एक चेक रिपब्लिकका र एक अमेरिकी नागरिक छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्