९ जेष्ठ २०८३, शनिबार

अतिकम विकसित मुलुकबाट हुने स्तरोन्नति प्रक्रिया तत्कालका लागि स्थगन गर्न औपचारिक पहल

कोलोराडोखबर संवाददाता , May 23rd, 2026

नेपाल । नेपाल सरकारले नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी) बाट हुने स्तरोन्नति प्रक्रिया तत्कालका लागि स्थगन गर्ने औपचारिक पहल अघि बढाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा यस्तो जानकारी दिनुभएको हो । यसअघि नेपाल आगामी २४ नोभेम्बर २०२६ मा स्तरोन्नति हुने तय भएको थियो । नेपाल सरकारले यो मिति नोभेम्बर २०२९ सम्म सार्न संयुक्त राष्ट्रसङ्घलाई अनुरोध गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रवक्ता क्षेत्रीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक, राजनीतिक परिस्थिति दृष्टिगत गर्दै यस्तो निर्णय लिइएको हो । उहाँका अनुसार १३ मे २०२६ मा परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको ‘कमिटी फर डेभलपमेन्ट पोलिसी’ लाई औपचारिक पत्राचार गरेर मिति सार्न प्रस्ताव गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले अतिकम विकसित मुलुकको अवधारणा सन् १९६० को दशकमा ल्याएको थियो । उक्त अवधारणालाई औपचारिकता दिँदै नोभेम्बर १८ सन् १९७१ मा आयोजित महासभाले २५ मुलुकको सूची बनाएर औपचारिक सुरुवात गरेको थियो । नेपालले एकपछि अर्को अवरोध देखाउँदै स्तरोन्नतिको मिति पछाडि सार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्