६ जेष्ठ २०८३, बुधबार

डा. मनोज शर्मा ३३औँ प्रधान न्यायाधीशमा नियुक्त

कोलोराडोखबर संवाददाता , May 20th, 2026

नेपाल । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ । अनुमोदनलगत्तै शर्माको नियुक्ति भएको हो । उहाँले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ लिई पदभार समाल्नुभएको छ ।

सर्वोच्चमा कार्यरत न्यायाधीशमध्ये रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मालाई संवैधानिक परिषद्को बैठकले वैशाख २४ गते प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अगाडि तीन जना हुनुहुन्थ्यो ।

कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँल शर्माभन्दा अघि हुनुहुन्थ्यो । वरिष्ठताक्रम पालना नभएकोमा प्रमुख प्रतिपक्ष दलका नेता र राष्ट्रिय सभा अध्यक्षले निर्णयमा फरक मत लेख्नुभएको थियो ।

प्रधान न्यायाधीशका रूपमा संविधानले तोकेको छ वर्षको कार्यावधि शर्मासँग छ । पदको अधिकतम समय पूरा गरेर शर्मा अवकाश हुनुहुने छ । हालसम्मका अधिकांश प्रधान न्यायाधीश ६५ बर्से उमेर हदका कारण अवकाश पाउँदै आएका छन् ।

२०२७ असार ४ गते पर्सामा जन्मिनुभएका शर्माले प्रधान न्यायाधीशमा छबर्से कार्यकाल पूरा गरेर २०८९ जेठ ४ गते अवकाश पाउनुहुने छ । शर्मा २०७६ वैशाख ६ गते सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो ।

२०७० जेठ २७ मा तत्कालीन पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशमा नियुक्त भई शर्माले २०७२ मङ्सिर २६ गतेसम्म काम गर्नुभएको थियो । २०७२ असोज ३ गते जारी नेपालको संविधान र त्यसपछि तर्जुमा कानुनले समेत अतिरिक्त न्यायाधीशको पद बचाऊ नगरेपछि शर्मा अतिरिक्तबाटै बिदा हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्