१९ बैशाख २०८३, शनिबार

कविताः हामी

कोलोराडोखबर संवाददाता , May 2nd, 2026

-सुदीपभद्र खनाल-
थाहा नै नदिई छली नियमनै फेरेर छालातरे
हो आफ्नै घरमा फिरी नियमले पाउन्न पस्नै अरे
जन्मेको घरभित्र बस्न नदिने अन्याय कि न्याय हो
खोसेछौ धृतराष्ट्र नागरिकता यो क्रूर अन्याय भो

जाने बस्न विदेशमा मुलुकनै छोडी उतैको भयो
अर्काको जब भैसक्यो मुलुकको नाता यहाँ के रह्यो
नातानै नभए रहन्छ कसरी सम्पत्ति खाने हक
जे जे मिल्छ म खान्छु जा अब न आ भन्छन् अझै निर्धक!

जान्छन् दूर चरा उडेर गुँडमा फर्के लिँदैनन् भिसा
माछो डुल्छ विभिन्न देश जलमा स्वातन्त्र्य त्यो सम्झिँदा
मान्छे नीच बनेछ के मनुजता छेकेर हुर्कन्छ र
प्यारो भूमि स्वजन्म भू सरह कुन् संसारमा हुन्छ र ?

साझा प्राकृत विश्वमा थरिथरी मान्छेहरू छौँ यहाँ
साझा श्वास छ वायुमण्डल छ यो आकाश यौटै यहाँ
पानी एक परन्तु मात्र मनुवा छेक्ने सिमाना बने
मान्छे जान्छ कहाँ फिरेर घरमा पाउन्न जानै भने !

मान्छे हो अति राज्य राज्य नभनौँ संस्कृत प्राकृत हौँ
यौटा नव्य सुसभ्यता उदयको वाचा नयाँ लौ गरौँ
सारा बन्धन मुक्त होस् मनुजता संसार यौटै बनोस्
मान्छेले नभनोस् ‘म’ मात्र पृथिवीबासी र हामी भनोस्।

-केन्द्रीय उपाध्यक्ष अनेसासा ।

प्रतिक्रिया दिनुहोस्