२ असार २०८३, मंगलवार

कविताः नौलो यात्रा प्रगतिपथको…

कोलोराडोखबर संवाददाता , July 19th, 2025

-सुदीपभद्र खनाल-
आउन् जस्तै पल कहरका हाँसिहाँसी म लिन्छु
हालुन् वाधा जति रिपुहरू ती सबै नाघिदिन्छु
नौलो यात्रा प्रगतिपथको सृष्टिमै थालिदिन्छु
नेपालीका हृदयतलको स्वर्ण संसार दिन्छु

आयो नौलो युग अब नयाँ चेतना ल्याइदिन्छु
त्यै ज्योत्स्नामा तिमिर ननिका कष्ट सिध्याइदिन्छु
कालो फ्याँकी अब सगरको ज्योति फैलाइदिन्छु
नेपालीका हृदयतलको पूर्ण संसार दिन्छु

फाली सारा कल विषमता मेल ताम्बूल दिन्छु
स्नेही यौटा अनुपम नयाँ प्रेमको फूल दिन्छु
बिर्सी सारा विगत म नयाँ दिव्य निर्माण दिन्छु
नेपालीका हृदयतलको शुभ्र संसार दिन्छु

रातो आफ्नै पन र गतिको फुल्छु लालीगुराँस
आफ्नै भाका र लय सुषमा खुल्छु नौलो विराट
यो धर्तीनै सुरभित हुने दिव्य आलोक दिन्छु
नेपालीका हृदयतलको स्वर्ग-संसार दिन्छु

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्